खुशीरामजीबाट सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति हामीले सिक्नलायक गुण हुन्ः प्रधानमन्त्री

 खुशीरामजीबाट सिक्नुपर्ने कुरा एउटा त सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने कुरा, यौटा सरलता सहजता उहाँको दोस्रो गुण हो। त्यो कुरा हामी सबैले सिक्नुपर्ने गुणभित्र पर्दछ भन्ने लाग्छ मलाई। क. खुशीराम पाख्रिनले कुनै खालको दम्भ र अहङ्कार म यस्तो भएँ भनेर देखाउने खालको अहमता कहिल्यै पनि देखाउनुभएन। एकदम सामान्य, सरल, त्यो उहाँको सकारात्मक रुप हो। उहाँ गाउने पनि आफै, गीत लेख्ने पनि आफै, सङ्गीत भर्ने पनि आफै, नृत्य सिकाउने पनि आफै सबै गर्नुहुन्थ्यो। बहुआयामिक प्रतिभा थियो उहाँमा।

खुशीराम पाख्रिनको छैठौँ स्मृति दिवस तथा “खुशीराम पाख्रिन स्मृतिग्रन्थ” विमोचन समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको सङ्क्षिप्त मन्तव्य
(९ मंसिर २०८०, बालुवाटार)

कार्यक्रमका अध्यक्षज्यू,
पुस्तकका लेखकज्यू,
खुशीराम पाख्रिनका परिवारजन,
अतिथिगण,
पार्टीका नेता साथीहरु,
सञ्चारकर्मी मित्रहरु,
उपस्थित सम्पूर्ण महानुभावहरु !

कमरेड खुशीराम पाख्रिनसँग मेरो पहिलो भेटघाट र चिनजान २०३६ सालको ऐतिहासिक जनआन्दोलन वरिपरिबाट भएको हो। २०३६ सालको ऐतिहासिक आनदोलनभन्दा अगाडि उहाँ साँस्कृतिककर्मीको रुपमा र गायकको रुपमा त हुनुहुन्थ्यो तर एउटा निश्चित प्रगतिशील र क्रान्तिकारी धारतिर आउने संक्रमणकालमै हुनुहुन्थ्यो भन्ने लाग्दथ्यो। पछि उहाँ प्रस्ट रुपमा एउटा प्रगतिशील र लोकप्रिय गायकको रुपमा रुपान्तरित हुनुभयो र पार्टी र आन्दोलनसँग जोडिनुभयो।
खुसीराम पाख्रिन त्यस समयमा गायनकै कारण जिल्लाभरि स्थापित हुनुभयो। सामान्य जनता र युवा वर्ग सबैले चिन्न थाले र पाख्रिन दाइ भनेर नाम लिन थाले। उहाँका गीतहरु अलि मौलिक र जनताले बुझ्ने खालका हुन्थे। शैली पनि एकदम जनशैली हुन्थे। यसो हुँदा उहाँ छोटो समयमै लोकप्रिय कलाकारको रुपमा र एउटा क्रान्तिकारी र प्रगतिशील गायकको रुपमा स्थापित हुनुभयो र हामीसँगै अगाडि बढ्दै गयौँ।

अर्को पाटो भन्दाखेरि जब हामी भूमिगत भएर पञ्चायत विरोधी गतिविधि बढाउँदै जाने क्रम भयो, तब उहाँलाई चितवन जिल्लाबाट झिकेर देशका अन्य विभिन्न भागमा गीत गाउन लैजाने, अझ त्यसभन्दा बढी चाहिँ भारतमा भएका नेपालीहरुका बिचमा लैजाने काम गरियो। उहाँका गीतजस्तै, “गैति बेल्चा उचालेर, पहरालाई छिचोलेर” जस्ता गीतहरु निकै लोकप्रिय भए। भारतमा जब उहाँ जानुभयो कलकत्ता, बम्बई, मद्रास, दिल्ली, पन्जाब आदि धेरैतिर घुमाइयो उहाँलाई।

हाम्रो अखिल भारत नेपाली एकता समाज नामक सङ्गठन थियो त्यतिबेला। त्यो सङ्गठन यति व्यापक भयो कि त्यो सङ्गठन विस्तार गराउनमा खुसीराम पाख्रिनको सबभन्दा ठूलो योगदान रहेको थियो। “टाढैबाट चिनियो ढाकाटोपी लाउनेलाई” भन्ने जस्ता गीत गाएपछि मान्छे त भावुक हुने, एकदम उत्साहित हुने उर्जा प्राप्त हुन्थ्यो। प्रवासको सङ्गठन बनाउन पनि कमरेड खुशीराम पाख्रिनको ठूलो योगदान रहेको थियो।
जनयुद्धको तयारी र जनयुद्धमा सहभागी हुने क्रममा उहाँले आफ्नो परिवारलाई, छोराछोरीलाई पनि युद्धमा नै संलग्न गराउनेतिर बेहिचक नै लाग्नुभयो। रोल्पा, रुकुम आधार इलाकामा गएर पनि उहाँलाई त्यहाँका जनतासँग निकै घुलमेल गराइयो। उहाँका एक छोरा अमर दोर्जे सहीद नै हुनुभयो।

जब शान्ति प्रक्रिया आयो, त्यसपछि थोरै उतारचढाव राजनीतिमा पनि भयो। यत्रो जीवन गीत गाएर, बाजा बजाएर, कविता लेखेर बिताउनुभयो। यहाँ मात्र नभएर उहाँ विदेशमा पनि जानुभयो। त्यहाँ नेपालीहरूको बिचमा ठूलै मात्रामा लोकप्रिय बन्नुभयो।

कमरेड खुशीरामलाई सम्झदै गर्दा उहाँको जसरी मृत्यु भयो, त्यो सबैलाई थाहा छ। मेरो छोरा प्रकाशको हृदयघातको कारण मृत्यु भयो। यही हाम्रो परिवार एक जस्तो भएको बेलामा चितवनमा त्यहीँ प्रकाशकै स्मृतिमा कार्यक्रम सञ्चालन भइरहँदा उहाँलाई हर्टअट्याक भयो र स्वाट्टै जानुभयो। यसले भावनात्मक रूपले पनि सेन्टिमेन्टल्ली पनि इमोसनल्ली पनि क. खुशीराम पाख्रिन, हाम्रो पार्टी र त्यसको नेतृत्वको हैसियतले मेरो यौटा विशेष सम्बन्ध भयो।
समग्रमा भन्नुपर्दा क. खुशीराम पाख्रिनको नेपालको प्रगतिशील साहित्यतिक इतिहासमा यौटा मौलिक खालको योगदान छ।

सबभन्दा बढी मैले सम्झने कुरा जनयुद्धको बेलामा रोल्पाको बुर्तीबाङ र रोल्पाको डाँडागाउँमा हामी सँगै बसेका थियौँ। समग्र जनयुद्धको बेलामा पनि उहाँसँगै थियौँ। आकाशबाट हेलिकोप्टरमा आएर बमबाडी गर्न थालेकोले हामी जङ्गलतर्फ भाग्दै थियौँ। हामी लुकेको र त्यहाँबाट अन्तै अर्को ठाउँमा सरेको बेलाको घटनाक्रम खुशीरामजीसँग विर्सनै नसकिने घटनाक्रम भयो। रातभरि हिडेका हिड्यै छौँ। हेलिकोप्टर माथिबाट घुमेकोघुम्यै छ। राति पनि आउँथ्यो नाइटभिजन भनेर। ती घटनाक्रमहरु नै सबभन्दा बढी जनयुद्धकालका क्लाइमेक्स टाइपका थिए। उहाँ कवि र गायक तथा सांस्कृतिक कमाण्डर म पार्टीको लिडर र कमाण्डर। हाम्रो वरिपरि हातहतियार सबै छन्। मेसिनगन छन्। एलएमजी छन्। सबैखालका रकेट लन्चर पनि छन्। हामी त्यो बोकेर हिँडेका छौँ। त्यो चाहिँ मैले कहिल्यै नबिर्सने घटनाभित्र पर्दछ।

जनयुद्धकै दौरानमा उहाँको छोरा दोर्जे पनि शहीद हुनुभयो। खुशीरामजीबाट सिक्नुपर्ने कुरा एउटा त सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने कुरा, यौटा सरलता सहजता उहाँको दोस्रो गुण हो। त्यो कुरा हामी सबैले सिक्नुपर्ने गुणभित्र पर्दछ भन्ने लाग्छ मलाई। क. खुशीराम पाख्रिनले कुनै खालको दम्भ र अहङ्कार म यस्तो भएँ भनेर देखाउने खालको अहमता कहिल्यै पनि देखाउनुभएन। एकदम सामान्य, सरल, त्यो उहाँको सकारात्मक रुप हो। उहाँ गाउने पनि आफै, गीत लेख्ने पनि आफै, सङ्गीत भर्ने पनि आफै, नृत्य सिकाउने पनि आफै सबै गर्नुहुन्थ्यो। बहुआयामिक प्रतिभा थियो उहाँमा।

उहाँ गाउँको सामान्य, धेरै पढेलेखेको पनि होइन। ठूलो तालिम लिएको पनि होइन। सामान्य स्तरबाट विकास भएर आफ्नै ढङ्गले सिर्जना जो गर्नुभयो त्यो पनि हामी सबैले सिक्नलायक गुण हो। राजनैतिक नेतृत्वले सिक्नुपर्ने चाहिँ निरन्तरता हो। एक वर्ष दुई वर्ष राम्रो गर्ने भन्ने र अन्तिम समयसम्म पनि राम्रैको निम्ति मर्ने भन्या चाहिँ फरक कुरा हो। उहाँ चाहिँ अन्तिम समयसम्म पनि लाग्नुभयो। त्यही नै हामी सबैले सिक्नुपर्ने गुण हो।

रामहरिजीको प्रधान सम्पादकत्वमा स्मृतिग्रन्थ निकाल्ने प्रयास जुन साकार भएको छ यो निकै प्रशंसनीय छ। मलाई लागेको छ कि यो निकै राम्रो कृति बन्न पुगेको छ। खुशीराम एउटा व्यक्तित्व हो र व्यक्तित्व एउटा आन्दोलनको उपज हो। आन्दोलनको उपजलाई स्थापित गर्ने उहाँका विभिन्न पक्ष, जीवनका सबै आयामहरुलाई सकेसम्म समेटेर यौटा ग्रन्थ तयार पार्ने जुन कार्य गर्नुभयो यसको म हृदयदेखि नै प्रशंसा गर्दछु। यसले अन्यलाई पनि उर्जा प्रदान गर्नेछ। मलाई लाग्छ यो ग्रन्थले खुशीराम को हो ? उहाँका गुण के थिए ? उहाँबाट हामीले सिक्नुपर्ने के हो ? भन्ने बारेमा भावी पिँढीलाई राम्रो शिक्षा प्रदान हुन्छ भन्ने कुरामा म आशावादी छु। अन्तमा यस स्मृतिग्रन्थका सम्पादक मण्डललाई विशेष धन्यवाद व्यक्त गर्दछु। भविष्यमा अझै बौद्धिक र रचनात्मक कार्य गर्न यस स्मृतिग्रन्थका प्रधान सम्पादक रामहरिजीलाई सफलता मिल्दै जाओस् भन्ने शुभकामना साथै विशेष धन्यवाद व्यक्त गर्दछु।

By