प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा भब्य स्वागत

नयाँ दिल्ली । भारतको चार दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भब्य स्वागत गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उहाँको फोटो अंकित स्वागत गेट, व्यानर र होडिंग बोर्डहरु राखिएका छन् ।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल होटल मौर्यमा बसेको छ । प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगी आज साझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासमेत सहभागी हुनुहुन्थ्यो ।

उक्त भेटघाट लगत्तै प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनु भयो । सो अवसरमा प्रधानमन्त्रीले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रीत रहने बताउनुभएको छ । उहाँले आपसी विश्वासको अभिवृद्धि तथा सद्भावना अभिबृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रीत रहने बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच सदिऔं पूरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड भोली बिहिबार बिहान साढे दश बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट जानुभई पुक्ष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै विहान ११ः०५ वजेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ ।

लगत्तै सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले भोली दिवा भोजको आयोजना गर्नुभएको छ ।प्रधानमन्त्रीले भोली ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः ३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नु हुनेछ ।

प्रधानमन्त्रीले साँझ ६ः१५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नु हुनेछ । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

By