नेपाली जनताकाे वैचारिक प्रतिबद्धताले दश वर्षे जनयुद्ध सफल भएकाे हाेः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वर्षे जनयुद्धको बलिदानले पृथ्वीनारायण शाहको एकीकरण र अन्य बलिदानलाई समेत बिर्स्याइदिएको बताउनु भएकाे छ। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ को सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको वैचारिक प्रतिबद्धताले दश वर्षे जनयुद्ध सफल भएको बताए। उनले भने, ‘नेपाली समाजको सबैभन्दा पछि परेको र सबैले बेवास्ता गरेका मान्छेहरु नै जागेका हुन्। जनयुद्धमा गरीब दलित, मधेशी, आदिवासी, जनजाति, मुस्लीम, गरीब मजदुर किसानहरु र त्यसमा पनि महिलाहरु चुलो चौकोबाट निस्केर बन्दुक बोकेर मोर्चामा सबभन्दा अगाडि सरेको र जिउँदै जलाइँदा वा आँखा झिकेर मार्दा पनि नझुक्ने कृतिमानहरु कायम हुन पुगेका हुन्।’

उहाँले आज सार्वजनिक पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ वास्तवमा एक पत्रकारको मात्र भोगाइ नभएर दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ भएको बताए। उनले भने, ‘यो पत्रकारको मात्र भोगाइ होइन। एउटा उद्देश्यको निम्ति सर्मपित क्रान्तिकारीहरुको भोगाइ हो।’

उहाँले थप्नुभयाे, ‘यो पुस्तक मार्फत जिवन्त रुपमा युद्धका ती दिनलाई अभिव्यक्त गरिएको छ । र, आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न नेपाली समाजले, नेपाली जनताका छोराछोरीले के कस्ता त्याग र तपस्या गर्नुपर्यो, कस्तो भोगाइहरु भोग्नुपर्यो भन्ने बारेमा बडो जिवन्त रुपमा लेखकले उतार्नुभएको छ। पहिलो कुरा हाम्रो यो अहिलेको परिस्थिती जे बनेको छ यसको पछाडिको सम्पूर्ण घटनाक्रमहरु यसका पछाडि रहेका विचारहरु राजनीतिक, रणनीतिक कार्यक्रमहरुको बारेमा पुस्तकले समेटेको छ।’

नेपाली जनताले नेपालको इतिहासमै सबैभन्दा ठूलो बलिदान कसरी गरेको थियो भन्नेकुराका बारेमा अझै आधकारिक र प्रमाणिक रुपमा जति समाजिक साहित्य बाहिर आउनुपर्ने थियो अझै आइनसकेको भन्दै उहाँले भन्नुभयाे, ‘तर त्यो आउने प्रक्रिया जारी छ। विभिन्न रुपमा विभिन्न लेखकहरु, पत्रकारहरु, साहित्यकारहरु, कवि कलाकारहरुले यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सत्य तथ्य बाहिर ल्याउने प्रयास गरिरहनु भएको छ ।’

उहाँले एकातिर श्रमजीवी वर्ग र आमुल परिर्वतनका निम्ति समर्पित व्यक्तिहरुले त्यसलाई बाहिर ल्याउने पक्रिया, त्यसलाई हेर्ने आखाँ, अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुले त्यसलाई हेर्ने र बाहिर ल्याउने प्रक्रिया भइरहेको बताउनुभयाे। संयुक्त राष्ट्रसंघले त्यतिबेला के कस्ता घटनाहरु राज्यबाट भए। के कस्ता घटनाहरु विद्रोहीबाट भए। मानिसहरु कसरी बेपत्ता भए, कस्ता यातनाको बिचबाट सिंगो समाज अगाडी बढ्यो भन्ने बारेमा आफ्नो कोणबाट त्यसलाई अगाडी ल्याउने प्रयास भइरहेको बताउनुभयाे।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘एउटा सानो घटना केही मानिसहरुको बलिदान भयो भने हामीले त्यसलाई बर्षौंसम्म त्यसको पक्ष वा विपक्षमा चर्चा परिचर्चा भइरहन्छ। तर, युद्धका ती दिनहरुले १० वर्षका ती दिनहरु, नेपालको इतिहासमा १५ हजार मानिसहरु मरेको दुईहजारको हाराहारीमा बेपत्ता भएको अनगिन्ती यातनाबाट गुज्रिएको र त्यसबाट अहिलेको नेपालको राजनीतिक प्रणालीसम्म आउने वातावरण बनाएछ र त्यसको सयौं वर्षसम्म चर्चा परिचर्चा भइरहन्छ।’

जनयुद्धका बारेमा संगीता खड्का युद्धका ती दिनहरुका बारेमा युद्धकालका घटना र क्रान्तिकारीहरुले भोगेका पीँडालाई बडो इमान्दारीका साथ पुस्तकमा उतारेकोमा आफू खुसी भएको उहाँले बताउनुभयाे ।

अध्यक्षले पुस्तकमा कुनै काल्पनिकता नभेटेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘यो पुस्तक पढ्ने कोही पनि पाठकलाई त्यतिबेलाका भोगाइहरु, संघर्षका अनुभवहरुलाई प्रत्यक्ष आफू सहभागि भए झंै गरी अनुभूति गर्न यसले सक्षम बनाउँछ। उहाँहरुले पत्रकारको रुपमा धेरै राजनीतिक काम गर्नुहुन्थ्यो । एउटा योद्धाले पार्टी हेड क्वाटर र लिडरशिपलाई त्यो आन्दोलनको सफलताको निम्ति, राजनीतिक औचित्य सिद्ध गर्नको निम्ति विभिन्न पक्षसँग वार्ता संवादको वातावरण बनाउनको निम्ति र राज्यका सरचनाहरु पार्टी हेडक्वाटरसम्म पुर्याउनका निम्ति ठूलो योगदान गर्नुभएको छ।’

उहाँले युद्धकालमा धेरै मानिसहरु परिचालित भएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘चाहे त्यो पत्रकारको रुपमा होस्, चाहे त्यो वुद्धिजीवी प्राध्यापक, विद्यार्थीको रुपमा या मानवअधिकारवादीको रुपमा होस् वा सांस्कृतिकर्मीको रुपमा सबैको योगदान उत्तिकै छ। यसको झल्को यो किताबबाट राम्रैसँग आउँछ। त्यतिबेला देशभित्र र बाहिर भूमिगत रुपमा भएका ती सबै घटनाक्रमहरु कृतिमा जस्ताका त्यस्तै उतारिएका छन्।’

कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध बहुआयामिक भएको समेत प्रष्ट्याउनुभयाे । उहाँले भन्नुभयाे, ‘जनयुद्ध यति धेरै बहुआयामिक थियो, यतिधेरै गम्भिर विचारधारात्मक र राजनीतिक प्रकृतिको थियो कि राजनीतिक ढङ्गले संवाद गर्ने कुनै पनि चाहाना हामी छोड्न चाहँदैन थियौं। हामी पहिलो दिन देखि नै एउटा निश्चित राजनीतिक उद्देश्यद्वारा प्रेरित पार्टी हांै र जनयुद्ध शुरु गर्नुभन्दा अगाडि पनि राज्यसँग संवादमा थियौं, संवादबाट सकारात्मक ढङगले समाधान निस्कन्थ्यो भने हामी युद्धमा जाने पनि थिएनौं।’

By