देशलाई नयाँ युगतिर लैजान वैशाख ९ गते नै पार्टी एकता : अध्यक्ष प्रचण्ड

धनकुटा, २७ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताउनु भएको छ ।

धनकुटाको पाख्रिबासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो –‘हाम्रो पूरै प्रयास छ कि वैशाख ९ गते नै विशाल जनसमुदायको अगाडि एउटा एकीकृत पार्टीको घोषणा गरौं । देशलाई विकास, समाजवाद र सामाजिक न्यायको नयाँ युगतिर लैजाऔं ।’

अध्यक्ष प्रचण्डले स्थिरता र समृद्ध नेपाल निर्माणको अवसर सदुपयोग गर्न राष्ट्रिय एकताको लागि सबैलाई आह्वान गर्नुृभयो । ‘यस्तो अवसर सधैँ आउँदैन, देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलन र संघर्षको प्रतिफल स्वरुप अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा छौं, उहाँले भन्नुभयो ‘यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्छ, त्यसकारण हामीले राष्ट्रिय एकताको प्रदर्शन गर्दै सबै मिलेर नयाँ नेपाल निमार्ण गर्ने एउटा संकल्प गरौं ।’

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन चीन र भारतबाट रेल ल्याउने र मध्यपहाडि लोकमार्गलाई पूरा गर्ने तयारी गरिएको बताउनु भयो । नेपालमै खानी उत्खनन् गरी उद्योग स्थापना गर्ने योजना बनिरहेको पनि प्रचण्डले खुलासा गर्नुभयो ।

‘अस्ति भर्खर प्रधानमन्त्री, म र सम्बन्धित मन्त्रालय बसेर केही खनिज पदार्थहरू फलाम, स्टिल उद्योग हामीले आफैं बनाउन सक्छौं भन्ने कुरा भएको छ’, उहाँले भन्नुभयो, ‘हामीकहाँ ठूला–ठूला बहुमूल्य धातु छन् । त्यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने ८/१० वर्षभित्र नै नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छौं । आम नेपाली जनताले यहीं रोजगारी प्राप्त गर्ने र विदेश गएकाहरुलाई पनि फर्काउने अवस्था आउँछ ।’

You may also like

By