सुर्खेत, २८ पुस । अध्यक्ष क. प्रचण्डले जनयुद्धमा सही विचार, साहस र विवेकलाई कलात्मक ढंगले प्रयाग गरेर जित हासिल गरेको बताउनु भएको छ । प्रदेश नं. ६ को बैठक तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई आज सुर्खेतमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, संविधान घोषणामा पनि हाम्रो रणनीति र कार्यनीति अनुरुप कलात्मक ढंगले विवेक र साहस प्रयोग गरेर नै संविधान घोषणा भएको हो । राजनैतिक लडाईमा हाम्रो यो ठूलो जीत हो ।’
उहाँले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै, संविधानको घोषणा पछि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचन र सरकार निर्माणमा अर्को सफलता प्राप्त गर्यौ । समाजवादी उन्मुख राज्य भनेर संविधानमा उल्लेख गरिएको छ । यो संविधान आफैं गतिशील संविधान बोलेको छ । समावेशी समानुपातिक व्यवस्था जसमा ३३ प्रतिशत महिलाहरुको सहभागिता, जनजाति, दलित, मुस्लिम, मधेसीको राज्यका सबै अंगमा प्रतिनीधित्व र यही ६ नं. प्रदेश निर्माणमा हाम्रो पार्टीले खेलेको निर्णायका संघर्ष, आदि हाम्रो ठूलो उपलब्धी हुन्, भन्नुभयो ।
अध्यक्ष क. प्रचण्डले, अब एमाओवादी पार्टीले विधिमा परिचालित हुने बताउँदै अब पार्टीलाई पद्दतिमा संचालन गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिनुभयो । गल्ति गर्ने र विधिमा नचल्नेलाई कार्यवाही सुरु गरिएको छ । पार्टीसँग सहि विचार छ, नयाँ भिजनसहितको नेतृत्व विविध संघर्षबाट खारिएको नेता कार्यकर्ता र जनता छन्, उहाँले भन्नुभयो ।’
अध्यक्षले माघ ५ गतेको सदनभित्रको मुठभेड, खुल्ला मञ्चको फागुन १६ गतेको लाखौंको सभाले एमाले र काँग्रेसलाई वार्तामा आउन बाध्य पारेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, वैशाख १२ गतेको विनासकारी भूकम्पपछि सरकार किमकर्तव्यविमुढ भएको बेला प्रमुख प्रतिपक्षको हैसियतले संसद बोलाउने सरकारले भन्यो तर सरकार तर्सियो कि यहि मौकामा सरकार चल्नको निम्ति सदन बोलाउन दबाब दिएको त होइन भनेर । तर हामीले व्यवस्थापिका संसदीय दलको बैठक बोलाएर राष्ट्रिय एकताको निम्ति संसदको बैठक बोलाउन सरकारलाई दबाब दियौं र २७ बुँदै संकल्प प्रस्ताव पास गरी राष्ट्रिय एकता कायम गर्न पहल गर्यौं ।
संविधान घोषणा गर्न नदिने षडयन्त्र भईरहेको थियो । संविधानसभा भित्र रहेका र बाहिर रहेका सबै माओवादीहरुको निम्ति संविधान सभाबाट संविधान निर्माण गर्नु अनिवार्य थियो । संविधान सभाबाट संविधान घोषणा भए पछि मात्र जनयुद्ध र जनआन्दोलनको औचित्य सही सावित हुनसक्थ्यो । अन्यथा यसको औचित्य नै समाप्त हुने थियो । नेपाल राष्ट्रको निम्ति संविधानसभाबाट संविधान घोषणाले देशी विदेशी षडयन्त्रलाई परास्त गरियो ।
बाबुरामजीले पार्टी मात्र परित्याग गरेको होइन । उहाँले मालेमावाद, जनता, वर्ग, राष्ट्र सबै परित्याग गर्नुभएको छ । यो उहाँमा भएको आत्माकेन्द्रित व्यक्तिवादी, चरम अराजकतावादी प्रवृति हो । उहाँ कुनै न कुनै रुपमा वर्ग, जनता र राष्ट्रको विरुद्ध प्रतिक्रान्तिकारी कदम हो । उहाँलाई बचाउन मैले धेरै प्रयत्न गरें तर आफैं सक्नु भएन । नेपाली समाज संविधानको घोषणासंगै समाजवादी क्रान्तिको चरमा प्रवेश गरेको छ ।
बैचारिक, राजनैतिक, संगठनात्मक हतियारको रुपमा मुखपत्र निकाल्ने, अध्यक्ष त्यसको नेतृत्वमा सम्पादक मण्डल, पार्टी स्कूल चलाउने उपाध्यक्षको नेतृत्वमा पार्टी स्कूल, उत्पादन बढाउन केन्द्रीय उत्पादन विभाग निर्माण गरिएको छ । सबै माओवादी क्रान्तिकारुीहरुको ध्रुविकरण गर्न पहल गरिएको छ ।
१० वर्ष जनयुद्धको तयारी, १० वर्ष, जनयुद्ध र १० वर्ष शान्ति प्रक्रियामा लाग्यौं । अबको आउँदो १० वर्ष समाजवादी क्रान्तिको १० वर्ष बनाउनु पर्दछ ।
तपाई हामीले संकल्प गर्यौं भने यो पार्टीलाई २ वर्षमा १ नं.को पार्टी बनाउन सक्छौं । हामी बाँच्दा बाँच्दै बदल्न सकिन्छ, सर्त केवल तपाई हामी एक हौं र समाजवादी क्रान्तिको दिशामा अगाडि बढौं । ’
प्रशिक्षण कार्यक्रमलाई उपाध्यक्ष क. नारयणकाजी श्रेष्ठ प्रकाश, महासचिव क. कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरले पनि सम्बोधन गर्नुभएको थियो । सहिदहरुको सम्मानमा १ मिनेट मौनधारणबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता स्थाी समिति सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज जनार्दन शर्मा र सञ्चालन पोलिट्व्यूरो सदस्य तथा प्रदेश सचिव कालीबहादुर मल्लले गर्नुभएको थियो ।