दाङ, २५ पुस । अध्यक्ष क. प्रचण्डले एक दशक जनुयुद्ध, एक दशक शान्ति प्रक्रिया भएझैं आउँदो एक दशक समाजवादी क्रान्तिको दशक हुने बताउनु भएको छ । दाङमा आयोजित पाँच नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । यसको निम्ति कार्यक्रममा उपस्थिति उक्त प्रदेशका पार्टीका पोलिट्व्यूरो सदस्य, केन्द्रीय सदस्य र १२ जिल्लाका जिल्ला समिति सदस्य लगायत नेता तथा कार्यकर्ताहरुलाई दृढतापूर्वक अगाडि बढ्न निर्देशन पनि दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क. प्रचण्डले भन्नुभयो,‘ संविधानका राम्रा कुराहरु कार्यान्वयन गरौं, नपुगेकालाई पुरा गरौं, पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरौं, समाजवादी क्रान्तिको तयारी गरौं । यही आधारमा पार्टी पुनर्निर्माण हुन्छ, क्रान्तिकारी ध्रुविकरणको प्रक्रिया पनि अगाडि बढ्छ ।’
केन्द्रीय समितिको बैठक पछि निर्णयहरु सम्प्रेशणको यो चौथो कार्यक्रम हो । यसअघि उहाँले ३ नं. प्रदेश, १ नं. प्रदेश र २ नं. प्रदेशमा केन्द्रीय समितिको बैठक पछि निर्णयहरु सम्प्रेशण गरिसक्नुभएको छ । उहाँले पार्टीका सचिव तथा पूर्व अर्थमन्त्री क. वर्षमान पुन ‘अनन्त’को स्वाथ्यस्थिति बारे पनि जानकारी गराउनु भयो ।
अध्यक्ष क. प्रचण्डले अगाडि भन्नुभयो, ‘यो वर्ष हाम्रो पार्टी र राष्ट्रकै जीवनमा विशिष्ट खालका परिघटनाहरु भएको वर्ष भयो । भूकम्प, संविधानसभाबाट संविधानको घोषणा, भारतको अघोषित नाकाबन्दी, केन्द्रीय समितिको बैठक समापन गर्न १ वर्ष ८ दिन लाग्नु, पार्टीका वरिष्ठ नेताले एकाएक पार्टी परित्याग गर्नु जस्ता राजनैतिक एवम् प्राकृतिक परीघटनाहरु भएका छन् । संविधान सभाबाट संविधान निर्माण गर्नु हाम्रो पार्टीको निम्ति जीवनमरणको प्रश्न थियो किनकी प्रतिक्रियावादीहरु जनयुद्धलाई आपराधिक घटनाको रुपमा स्थापित गर्न चाहान्थे र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई ध्वस्त पार्न चाहान्थे ।
पार्टीको सातौं केन्द्रीय समितिको आठौं बैठकमा आफैंप्रति निर्मम भई नेतृत्वले दस्तावेज पेश गर्यो र पारित भयो । यो दस्तावेज अनुरुप पार्टी विगतमा भएका कमजोरीलाई सच्चाई सफलताका श्रंखलाहरु प्राप्त गर्दै गयो । ४ बुँदे सहमति ०७१ माघ ५ गतेको संविधानसभा भित्रको भिडन्त, फागुन १६ गतेको खुल्लामञ्चको जनसभा पछि नेपाली काँग्रेस र एमाले वार्ताको निम्ति बाध्य भए । भूकम्प गएपछि राष्ट्रिय संकटलाई सामना गर्न प्रमुख प्रतिपक्षको जोडबल र पहलमा संसदको बैठक बोलाईयो र राष्ट्रिय एकता कायम गरियो । यो संसदवादमाथिको ठूलो विजय थियो ।
देशको जटिल राजनैतिक परिस्थिति, पार्टीभित्र जटिल अवस्थाका बीचमा पनि नेतृत्वले सही विचारको आधारमा विवेक, सहास र कलाको प्रयोग गरी संविधानको घोषणा, सरकार निर्माण गर्नु महत्वपूर्ण सफलता हो । संविधान घोषणा नहुँदासम्म पार्टीको प्राथमिक काम संविधान निर्माणमा केन्द्रीत रह्यो । संविधानको घोषणा पछि बसेको केन्द्रीय समितिमा प्रस्तुत एवम् पारित राजनैतिक दस्तावेजले पार्टी पुनर्निर्माणलाई प्राथमिक कामको रुपमा अगाडि सारेको छ । यो केन्द्रीय समितिको बैठक पहिलेकै निरन्तरता होइन, शान्ति प्रक्रिया पछि पार्टीले नयाँ मोड लिने निर्णय लिएको बैठक हो । आउँदो २ वर्षमा पार्टीको संरचना, सडक, सदन, सरकार भित्रको संघर्षलाई नयाँ शिराबाट उठाउने र समाजवादी क्रान्तिको तयारी नयाँ ठाउँमा उठाउने निर्णयसहितको बैठक थियो ।
आउँदो २ वर्षमा पार्टी देशकै १ नं.को पार्टी बन्ने छ र नयाँ युगको क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीको नेतृत्वमा आउँदो १० वर्षमा समाजवादी क्रान्ति पुरा हुनेछ । बुर्जवाहरु र कम्युनिष्ट पार्टीबाट भागेका भगौडाहरुले हजार पटक माक्र्सवाद पुरानो भयो भन्दैमा पुरानो हुने होइन । बरु जनता, वर्ग र राष्ट्रप्रति गद्दारी गर्ने र दुश्मनप्रति आत्मासमर्पण गर्नेहरुले मात्र माक्र्सवाद पुरानो भयो भन्दै जनता, वर्ग र देशलाई घात गरेर विरोध गर्दछ ।
बाबुरामजीले पार्टी मात्र होइन माक्र्सवाद, सहिद, बेपत्ता योद्धा, घाइते योद्धा, जनता, वर्गलाई त्याग्नु भएको हो । हामी जनताको पक्षमा, सहिद, बेपत्ता योद्धाको पक्षमा, सिंगो राष्ट्र र वर्गको पक्षमा खडा छौं । अध्यक्षले वैचारिक, राजनैतिक काम, संगठनात्मक काम, सरकार सदनका काम, उत्पादन सम्बन्धी काम र जनपरिचालनका कामको योजना बारे चर्चा गर्नुभयो । अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरुबीचमा ध्रुविकरण प्रक्रियामा जोड दिनुभयो । विचारधारात्मक एकरुपता कायम गरेर मात्र पार्टी एकता गर्नुपर्नेमा उहाँको जोड थियो ।
बैठकको समापन पश्चात अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते योद्धाहरुसँग भेट गर्नुभयो । भेटका क्रममा घाइते योद्धाहरुले संविधान घोषणासँगै सहिद र आफूहरुले बगाएको रगतको उचित सम्मान भएको बताउनुभयो । अझै जनताका अधिकारहरु स्थापित गर्न पार्टी र पार्टी नेतृत्व लागि रहने विश्वास व्यक्त गर्नुभयो । योद्धाहरुले आफ्नो व्यवहारिक समस्याहरु पनि अध्यक्ष क. प्रचण्ड समक्ष राख्नुभयो ।
अध्यक्ष क. प्रचण्डले घाइते योद्धाहरुले राख्नुभएको आशा र अपेक्षा अनुरुप पार्टी र नेतृत्व निरन्तर लागिरहने बिश्वास दिलाउनु भयो । साथै अन्य समस्याहरु पनि हल गर्नको निम्ति पहल गरिने बताउनु भयो । अध्यक्ष प्रचण्डले घाइते योद्धाहरुलाई पार्टी र जनतामा अझैं हौसला एवम् प्रेरणा बढाईदिई रहनुहुन्छ भन्ने अपेक्षा गर्दछु भन्नुभयो । बैठकमा पार्टीका उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव कृष्णबहादुर महराको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर पनि रहनुभएको थियो । बैठकको अध्यक्षता प्रदेश इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य चक्रपाणि खनाल ‘बलदेव’ले गर्नुभएको थियो भने बैठकको सञ्चालन जगप्रसाद शर्मा ‘अपार’को रहेको थियो ।