काठमाडौं, २४ पुस । पार्टीका सचिव तथा पूर्व अर्थमन्त्री क. वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यस्थिति बारे जानकारी र थप उपचारका लागि सल्लाह गर्न थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएका अध्यक्ष क. प्रचण्ड बैंककको समितिभेज अस्पतालमा उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको स्वास्थ्यस्थिति बारे परामर्श गरी आज साँझ ७ः४५ बजे नेपाल एयरलाइन्सबाट स्वदेश फर्कनुभएको छ ।
त्यसक्रममा क. अनन्तको उपचारमा सम्लग्न चिकित्सकहरुसँग अध्यक्ष क. प्रचण्डले लगातार ३ पटक परामर्श गर्नुभएको थियो । चिकित्सकहरुका अनुसार विगतमा नेपाल र भारतमा भएको उपचारका क्रममा देखिएको लिभर सम्बन्धी समस्याको पूर्णरुपमा सुधार भएको तर लामो समय बिरामीको कारण प्रतिरोधात्मक क्षमतामा कमि आएकाले फोक्सोमा संक्रमण देखापरेको छ । प्रतिरोधात्मक क्षमताको बृद्धि गराई उक्त संक्रमणको पूर्ण निधान पश्चात स्वदेश फर्किने अध्यक्ष क. प्रचण्डले बताउनु भयो । अध्यक्षसँग बैंकक जानुभएकी क. अनन्तकी जीवनसंगिनी तथा सभामुख ओनसरी घर्ती भने केही दिन उतै रहनु हुनेछ ।