काठमाडौं, १४ माघ । अध्यक्ष प्रचण्डको थाइल्याण्ड भ्रमण स्थगित भएको छ । अध्यक्ष प्रचण्ड बैंककमा उपचार गराईरहनु भएका पार्टीका सचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्योपचार पश्चात नेपाल ल्याउने विषयमा छलफल गर्न आउँदो शुक्रवार अर्थात माघ १५ गते थाइल्याण्डको बैंकक प्रस्थान गर्नुहुने भएको थियो । पार्टी संगठनको कामको व्यस्तता र मधेसमा आन्दोलनरत पक्षहरुसँग थप छलफल गर्नुपर्ने भएकाले अध्यक्षको भ्रमण स्थगित भएको हो ।
अध्यक्ष प्रचण्डले बैंककमा उपचाररत पार्टीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यको बारेमा थप जानकारी लिन र उहाँलाई नेपाल ल्याउने बिषयमा त्याहाँस्थित चिकित्सकहरुसँग छलफल गर्न बैंकक जाने कार्यक्रम रहेको थियो । सचिव अनन्त स्वास्थ्यमा सुधार आउन थालेपछि अहिले अस्पतालबाट डिस्चार्ज भर्इ चिकित्सकहरुको निगरानीमै हुनुहुन्छ ।