नेपाल टेलिभिजनको ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमूख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त मन्तव्य

कार्यक्रमका सभापति महोदय,
माननीय सूचना तथा सञ्चार मन्त्री ज्यू,
नेपाल टेलिभिजनका सम्पूर्ण कर्मचारी मित्रहरु,
उपस्थित दिदी बहिनी तथा दाजूभाइहरु,
सञ्चारकर्मी मित्रहरु,
देशको पहिलो र पुरानो टेलिभिजन, नेपाल टेलिभिजन आजबाट ३२ बर्ष पूरा गरी ३३ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट नेपाल टेलिभिजन परिवारलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु । यस अवसरमा आम जनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।
वि.सं.२०४१ सालमा आजकै दिन अर्थात् माघ १७ गतेबाट परियोजनाका रुपमा स्थापना भई २०४२ साल पुसबाट नियमित प्रशारण शुरु गरेको नेपाल टेलिभिजनले सूचना प्रवाहमा तीन दशक भन्दा लामो यात्रा तय गरेको छ । यस बीचमा मुलुकले समेत तीन भिन्न प्रकारका शासन व्यवस्थाको अभ्यास गरेको छ । त्यस अर्थमा नेपाल टेलिभिजन पछिल्ला तीन दशकमा भएका सवै परिवर्तनको साक्षी हो भन्न सकिन्छ । अझ स्पष्ट रुपमा भन्दा यो सूचना प्रवाह र टेलिभिजन प्रशारणका क्षेत्रमा भएका विकासको तस्वीर हो । तर, अब विगतबाट पाठ सिक्दै आगामी दिनका चुनौतीलाई अवसरमा बदल्दै परिवर्तनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्नु हामी सबैको दायित्व भएको छ । यस क्रममा नेपाल टेलिभिजन पनि परिवर्तित सन्दर्भको राष्ट्रिय दायित्व निर्वाह गर्न संस्थागत रुपमै सक्षम छ भन्ने विश्वाश मलाई छ ।
मुलुकमा नयाँ संविधान जारी भई हामी संविधान कार्यान्वयनको चरणमा छौं । संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन भएको सन्दर्भमा यसलाई सारभूत रुपमा कार्यान्वयन गर्न विद्यमान संरचनालाई संविधानमा व्यवस्था गरिएअनुरुप तल्लो तहमा अधिकार लैजाने गरी रुपान्तरण गर्नु आवश्यक छ ।
यसै सन्दर्भमा नेपाल टेलिभिजन पनि संघीय स्वरुप अनुसारको संरचनामा जान थालेकोमा मलाई खुशी लागेको छ । यस क्रममा मध्य र सूदुर पश्चिममा प्रशारण बिस्तार गर्न पुनःसंचालित बाँकेको कोहलपुरस्थित क्षेत्रीय प्रशारण केन्द्रको परिक्षण प्रशारणको मैले भर्खरै मात्र शुभारम्भ गरेको छु । पूर्वाञ्चलको इटहरीमा क्षेत्रीय प्रशारण सुरुवात गर्नका लागि भवन निर्माणको कार्य र सबै प्रदेशमा प्रशारण बिस्तारको गृहकार्य भइरहेको जानकारी पाउँदा खुशी लागेको छ । यसैगरी २०७२ सालमा आएको भूकम्पका कारण भएको क्षति र प्रशारणमा आइपरेको अप्ठेरोलाई महशुस गर्दै कोहलपुर र इटहरीलाई विपद् व्यवस्थापन र वैकल्पिक प्रशारण केन्द्रको रुपमा समेत सञ्चालन गर्ने तयारी भइरहेको कुरा जानकारी पाउँदा थप खुशी र गर्वको अनूभूति भएको छ ।
यस सन्दर्भमा संघीयताको मर्मलाई जनजनमा स्थापित गर्न सबै क्षेत्र, वर्ग, लिङ्ग, जाति, भाषाभाषी, धर्म र संस्कृतिको स्वर र अनुहार नेपाल टेलिभिजनमा समान रुपमा प्रतिविम्वित् हुनुपर्छ । सबैले नेपाल टेलिभिजनसँगको अपनत्व अनुभूत गर्नुपर्छ । ‘हुने खाने’ र ‘हुँदा खाने’ सबैका लागि समान पहुँच बनाउन, नेपाल टेलिभिजन सफल बन्नुपर्छ । त्यस दिशामा नेपाल टेलिभिजन अगाडि बढ्न सकोस्, मेरो शुभेच्छा छ ।
त्यसो त टेलिभिजन, विश्वव्यापी रुपमै प्रविधि र प्रशारणको तीव्र प्रतिस्पर्धामा छ । प्रशारण प्रविधिको प्रयोगमा गरिने परिवर्तनसँगै विषयवस्तुको छनौट र प्रस्तुतिमा हुने नयाँपनले टेलिभिजनको प्रभावकारिता सञ्चार जगतमा अहिलेसम्म पनि पहिलो स्थानमा छ । नेपाल टेलिभिजनले पनि पछिल्ला प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको र अन्र्तराष्ट्रिय मापदण्ड अनुसार आफ्नो प्रसारणलाइ डिजिटल सेवामा रुपान्तरण गर्न डिजिटल ट्रान्समिटरबाट परीक्षण प्रशारण प्रारम्भ गरिसकेको छ । यसको पनि मैले आज औपचारिक शुभारम्भ गरेको छु । डिजिटाइजेशनसँगै नेपाल टेलिभिजनको प्रसारणमा गुणस्तरीयता र विषयगत विविधतामा वृद्धि हुने मेरो विश्वास छ । त्यसैगरी नेपाल टेलिभिजन, निकट भविष्यमै हाइ–डिफिनेशन प्रविधिमा जाने तयारीमा लागेको जानकारी प्राप्त भएको छ । यस कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।
नेपाल टेलिभिजनको ३२ औं वार्षिकोत्सव समारोहमा सहभागी सबै महानुभावहरु तथा प्रत्यक्ष प्रशारण हेरिरहनुभएका दिदीबहिनी तथा दाजुभाइहरु ।
बर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाई आगामी १ वर्षभित्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । सरकारले तय गरेको यो लक्ष्यलाई प्राप्त गर्न राष्ट्रिय प्रशारण संस्था, नेपाल टेलिभिजनको महत्वपूर्ण भूमिका रहन्छ । सञ्चार माध्यम सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम हुन् । त्यसैले नेपाल टेलिभिजनले अब सिंहदरवार र सीमान्त वर्ग, क्षेत्र र समुदायबीचको सम्वादका लागि सम्वाहक बन्नुपर्छ । यसले सामाजिक सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने छ । यस क्रममा नेपाल टेलिभिजनले देखाउने तस्वीर र सुनाउने सबैको समावेशी स्वरले सशक्तिकरणमा सघाउने छ भने सशक्तिकरणबाट मुलुकको समृद्धिमा सहयोग पुग्नेछ ।
सत्य, सन्तुलित र विश्वसनीय समाचारको प्रशारण नेपाल टेलिभिजनको ब्राण्ड बनेको छ । संविधान कार्यन्वयनका लागि सरकारका तर्फबाट भइरहेको इमान्दार प्रयास र निर्वाचन सम्पन्न गने क्रममा आफ्नो स्थापित ब्राण्डलाई कायम राख्दै नेपाल टेलिभिजनका साथै सबै सञ्चार माध्यमहरुले थप सम्वेदनशील र जिम्मेवार भएर रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु । लोकतन्त्रको मूल्य र मान्यताअनुसार सञ्चार माध्यमहरुको निष्पक्षता र सम्पादकीय स्वतन्त्रताको राज्यले सधंै सम्मान गर्नेछ । प्रेस स्वतन्त्रता र लोकतन्त्र एउटै मानिसका दुई पाइला हुन् । जुन एकपछि अर्को तर सँगसँगै चल्दछन् । यो शास्वत सत्यलाई हामी सबैले बुझेका छांै ।
कर्मचारी मित्रहरु,
नेपाली टेलिभिजनको जननी, नेपाल टेलिभिजनको इतिहास साँच्चै नै गौरवपूर्ण छ । सरकार अन्तर्गत सञ्चालित निकाय अन्य क्षेत्रका लागि रोल मोेडेल हुनुपर्ने सन्दर्भमा नेपाल टेलिभिजन राज्य मातहतको टेलिभिजन भएकोले यसको गौरव र प्रतिष्ठा सबै नेपालीसँग गाँसिएको छ । यो यथार्थतालाई हृदयदेखि नै मनन् गर्दै नेपाल टेलिभिजनको दिगो, दरिलो र सुन्दर भविष्य निर्माणका लागि तपाईहरु नयाँ सिर्जनाका साथ दिनरात, २४ सै घण्टा मेहनत गरिरहनु हुनेछ । मैले बुझेसम्म, नेपाल टेलिभिजन प्रविधिले तुलनात्मक रुपमा पूर्ण छ, श्रोत साधनले सम्पन्न छ । पुरानो हुनुको अर्थमा तपाई टेलिभिजनकर्मीहरु पनि परिपक्व हुनुहुन्छ । यसको स्वभाविक लाभ तपाइहरुलाई छ । तपाईहरुको परिपक्वताले नेपाल टेलिभिजनका सबै तीनवटै च्यानलहरु थप लोकप्रिय हुँदै जानेछन् भन्ने मलाई विश्वास छ । किनकि, सबैले रुचाउने प्रिय हुन सक्दा मात्र इतिहास जीवन्त रहन्छ ।
अन्त्यमा,
म यस महत्वपूर्ण अवसरमा नेपाल टेलिभिजन स्थापनाकालदेखि यसको विकास क्रममा संलग्न तर हाल सेवा निवृत्तहरु सबैको योगदानको स्मरण गर्न चाहन्छु । आज सम्मान प्राप्त गर्नुहुने सबैलाई बधाइ ज्ञापन गर्दछु । यसका साथै ३३ औं वर्ष प्रवेशको यस सुखद अवसरमा नेपाल टेलिभिजनका सम्पूर्ण पत्रकार, प्राविधिक र सबै कर्मचारी साथीहरुलाई पुनः एकपटक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
१७ माघ, २०७३

By