मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतको छैठौं साधारणसभामा सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री पुष्पकमल दाहाल ज्यूको सम्बोधन

यस सभाका उपाध्यक्षज्यू माननीय शिक्षामन्त्री, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहकुलपति, विश्वविद्यालयका उपकुलपति लगायत सम्पूर्ण सभासद एवम् आमन्त्रित महानुभावहरू १

१. सबैभन्दा पहिला तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जनताको लामो समयसम्मको अथक प्रयास र जनदबाबको परिणाम स्वरूप र राज्यको बहु र विकेन्द्रीकृत विश्वविद्यालयको अवधारणा अनुरूप उच्च शिक्षामा क्षेत्रीय सन्तुलन र विकास र समृद्धिको आधारको रूपमा राज्यको लगानीमा स्थापना गरिएको यो मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको कुलपतिको हैसियतमा छैठौं सभाको अध्यक्षता गर्ने अवसर प्राप्त गरेकोमा सम्बधित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

२. आजको प्रतिष्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा युग स्तरीय र गुणस्तरीय हुन सकेन भने त्यस मुलुकका नागरिकहरू पछाडी पर्ने निश्चित छ।जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोत साधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन र आजको भूमण्डलीकरणको युगमा युग अनुकुलको नागरिक निर्माण गर्न सक्दैन त्यो मुलुक पनि विकासको दौडमा पछाडि पर्ने निश्चित छ।हरेक मुलुकको शिक्षा प्रणाली र शिक्षामा भएको लगानीबाट प्राप्त हुने उपलब्धिले त्यस मुलुकको भाग्य र भविष्यको निर्धारण गर्दछ।त्यसकारण विकासलाई शिक्षासंग नजोड्ने र शिक्षालाई विकाससँग नजोड्ने हो भने शिक्षा प्रणाली केवल शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बन्न जाने छ।हामीले शिक्षा प्रणालीलाई संरचनागत रुपमा बदल्न अनिबार्य छ।हाम्रो शिक्षा प्रणाली हाम्रो मौलिकतामा आधारित भएर हाम्रो साधन स्रोत परिचालन र उपयोग गरी विकासका लागि साधक बन्नु आवश्यक छ।

३. विकास र समृद्धि उपलब्ध प्राकृतिक स्रोत साधन र त्यसलाई प्रसोधन र परिचालन गर्न सक्ने दक्षता भएका मानव संसाधनमा निर्भर गर्दछ।आज हरेक मुलुक जो विकास र समृद्धिको शिखरमा पुगेका छन् तिनीहरुको एक प्रमुख आधार उपलब्ध स्रोत साधनलाई परिचालन गर्नसक्ने सीप र दक्षता भएका मानव जनशक्तिको विकास नै हो।यस क्षेत्रको विकास र समृद्धिको लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपलब्ध स्रोत साधनलाई उपयोग र परिचालन गर्न सक्ने सीपमा आधारित प्राविधिक र दक्ष मानव संसाधनको विकास गर्ने छ भन्ने विश्वास समेत लिएको छु ।

४. जलस्रोतको भरपुर सम्भावनालाई मध्यनजर गरी साना ठुला विद्युत परियोजनामा स्वदेशी पुँजी, निजी क्षेत्र, सरकारी क्षेत्र, सहकारी क्षेत्रलाई परिचालन गर्ने हो भने हामी हाम्रा सम्भावनालाई सार्थकतामा रुपान्तरण गर्न सक्छौ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत जडीबुटीसम्बन्धी अध्ययन अध्यापन र अनुसन्धानको प्रक्रिया थालनी गर्नु आवश्यक छ।त्यसैगरी यस क्षेत्रका जलभण्डारका रुपमा रहेका कर्णाली, भेरी र राप्ती नदी र तिनका सहायक साना ठूला नदीहरुबाट जलविद्युत र कृषिको लागि आवश्यक सिचाई र खानेपानीको समेत आपूर्ति हुने प्रचुर सम्भाबना हाम्रो वीचमा खेर गइरहेको छ।यसलाई पनि अध्ययन, अध्यापन र अनुसन्धानको विषयवस्तु बनाएर विश्वविद्यालयको कार्यक्रममा समेट्न सकियो भने निजि र सरकारीस्तरबाट साझेदारीका रुपमा राष्ट्रिय अन्तराष्ट्रियस्तरको समेत लगानी भित्र्याउने र हाइड्रो सेन्टरको रुपमा विकास गर्न सकिन्छ।

५. सदियौं देखि उत्खननको प्रतिक्षामा रहेको पेट्रोलियम पदार्थको अपार सम्भावना युक्त समृद्धिको आधारको सुरुवात गर्न सकिएको छैन।अब विश्वविद्यालय शिक्षामा यस्ता सम्भावनाको खोज अनुसन्धान गर्न सक्ने र त्यसको परिणाम देखिने गरी लगानी र व्यवस्थापन गर्न ढिला गर्नुहुदैन।प्रान्तीय एवं केन्द्रीय सरकार दुवैले यिनी सम्भावनाहरूलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थको उत्खनन गर्ने कार्यको थालनी गर्न सके लगायत मुलुकको समृद्धि र पेट्रोलियम पदार्थमा रहेको परनिर्भरताको अन्त्य हुने थियो।

६. विश्वको मानचित्रमा नेपाल र नेपालको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनेकन प्राकृतिक र मौलिक, सास्कृतिक स्रोत साधनले भरिपूर्ण र मजबुत हुँदा(हुदै पनि पिछडिएको र अल्पविकसित क्षेत्रको रुपमा रहेको छ।यो क्षेत्रको विकास र पहिचानका लागि यस क्षेत्रमा रहेका विकासका प्रचुर प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन र परिचालन गर्न सक्ने र मौलिक कला, संस्कृति, भाषा, साहित्य, धार्मिक तथा ऐतिहासिक एवं पुरातात्विक महत्त्वका क्षेत्रको विकास र विस्तार गर्ने हो भने सो गर्न सक्ने बनाउने प्रकृतिको शिक्षाको प्रबन्ध हुनुपर्दछ।दैलेखको पंचकोशी, जुम्लाको चन्दननाथ र तातोपानी, मुगुको रारा, हुम्ला हुँदै मानसरोबर यात्रा, डोल्पाको शे(फोक्सन्ड़ो, सुर्खेतको काँक्रेविहार लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने र परिचालन गर्ने, अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विकास गर्न सकिन्छ।

७. कर्णालीका अव्यवस्थित स्याउ र ओखर बगैंचाहरुलाई व्यवस्थित र व्यवसाय मुखीरुपमा संचालन गरेर उचित बजारको व्यवस्था गर्न सकियो भने र बाँके र बर्दियाको उर्वर खेती योग्य जमिनलाई खाध्य तथा अन्न भण्डारको रुपमा विकास गर्ने र दैलेख, सुर्खेत लगाएतका ठाउँमा सुन्तला, अर्ग्यानिक तरकारी तथा फलफुल उत्पादन र बजारीकरण गर्ने प्रकृतिको योजनाका साथ जुट्न र आवश्यक जनशक्ति उत्पादन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यक्रममा कृषि सम्बन्धी कार्यक्रमहरू थप गरी अगाडि बढ्नुपर्ने हुन्छ।

८. रोग ग्रस्त र महामारी प्रभावित क्षेत्रको रुपमा पहिचान बनाएको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सिंगै कर्णाली अनेकन मेडिकल जडिबुटीहरुको भर्जिन ल्याण्ड र खानी नै हो।यस सम्बन्धि अध्ययन, अध्यापन र अनुसन्धान गरी जडिबुटी प्रसोधन केन्द्रको रुपमा विकास गर्न आवश्यक छ जसका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो मुख्य रणनीतिमा राखेर कार्य रूप दिनुपर्ने आवश्यक छ र सो अनुरुप प्रस्ताव अगाडी समेत बढिरहेको छ।यसका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो कार्यक्रममा चिकित्साशास्त्र संकाय थप गरी त्यस अन्तर्गत नर्सिङ, आयुर्वेद, हर्बल आदिको पठनपाठन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत कार्यक्रमहरू थप गरी अगाडी बढाउन नेपाल सरकार प्रतिबद्ध छ।

९. अन्त्यमा, आजको भूमण्डलीकरणको युगमा सूचना प्रविधिले निम्त्याएको ग्लोबल कम्युनिटीमा समायोजन भई आजको विश्वबजारमा खपत हुन सक्ने सीपमा आधारित, उपलब्ध प्राकृतिक स्रोत साधनलाई परिचालन गर्न सक्ने योग्यता र दक्षता भएका युगस्तरीय, गुणस्तरीय, प्रतिष्पर्धी, विकास र समृद्धिका साधक जनशक्ति उत्पादनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महत्वपूर्ण योगदान रहनेछ भन्ने पूर्णविश्वास राख्दै यस विश्वविद्यालय र यस क्षेत्रको गरिबी, रोग, भोक, अशिक्षा, पछौटेपन, अन्धविश्वासलाई चिर्दै स्वाभिमानी, स्वाबलम्बी र राष्ट्रवादी नागरिक निर्माणको अभियानमा यस विश्वविद्यालयको उच्चतम भूमिका रहनेछ र यो मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सिङ्गो मुलुकलाई नै विकास र समृद्धिको द्रूत गतिमा डोरयाउन सहयोग गर्ने छ भन्ने आशा र अपेक्षा सहित मेरो मन्तव्य यहिँ अन्त्य गर्दछु ।
धन्यवाद
२०७३ साल चैत्र

By