अध्यक्ष प्रचण्डद्वारा एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई बिदाई

काठमाडौं । इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले आज बिहान अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिनुभयो ।

आफूलाई पनि टेबुल टेनिस खेल औधी मनपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।’ सो अवसरमा अध्यक्षले टेबुल टेनिस खेल सबै उमेर समुहका लागि उपयुक्त खेल भएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीहरुमा थप उर्जा र हौसला बढेको बताउनुभयो । अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई उहाँले राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गर्नुभएको मेनेजर शाहीले बताउनुभयो ।

सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडीहरु नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् । दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन् ।

By