मिलेर जानु छ, धेरै पर नजानु होला, ‘प्रधानमन्त्री’

फाल्गुण ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक संक्रमण कालको अन्त्य भएपनि संविधान कार्यान्वयनको चुनौति कायमै भएका कारण मिलेर अगाडि बढ्न र धेरै पर नजान राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार राप्रपाको एकता महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म विद्रोही । हिजोका दिनमा युद्ध गरेको कमाण्डर, तपाइहरुको जस्तो विचार र दर्शन छैन । तपाई र हाम्रो विचारमा ठूलै अन्तर छ । तर, किन किन राप्रपासँग मिलौ मिलौ लाग्छ । नजिक हुन मन लाग्छ ।’ हात मिलाउन मन लाग्छ । देशको सङ्कट समाधान भइसकेको छैन, धेरै टाढा नजानु होला ।’
प्रधानमन्त्रीले संविधान निर्माणमा राप्रपाले देखाएको परिपक्व भूमिकाका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सिद्धान्त र एजेण्डामा बिमति हुँदाहुँदै पनि राप्रपाले संविधान जारी गर्दा परिपक्वता देखाएको छ । राप्रपाका नेताहरु हल्का फुल्का आवेगमा आएर काम गर्दैनन्, परिपक्व काम गर्दछन् भन्ने कुरा पुष्टि गर्नुभएको छ । संविधान कार्यान्वयनमा पनि त्यो परिपक्वता प्रस्तुत हुनेमा म विश्वस्त छु ।’
निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन निर्वाचनको सहज वातावरण बनाउनका लागि अनिवार्य छ । मधेश, पहाड र हिमाललाई अलग्गाएर, तन्काएर, एकले अर्कोलाई निषेध गरेर होइन, एकीकृत गरेर मात्र राष्ट्रिय एकता हासिल हुन सक्दछ । त्यसका लागि संविधान संशोधन आवश्यक छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन । मैले क्याविनेटबाट निर्वाचन गर्ने निर्णय गरिसकेको छु । छिट्टै तिथि, मिति घोषणा हुनेछ ।’

By