‘कांग्रेसले नैतिक दृष्टिकोणले पनि एमालेकै नेतृत्वको राष्ट्रिय सरकारमा बस्नु उपयुक्त हुन्छ’

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न मुख्य भूमिका निर्वाह गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले राष्ट्रिय सहमतिको सरकारको पक्षमा छन्।

जनयुद्ध, गणतन्त्र र संविधान निर्माणमा निर्णायक भूमिकामा रहेका प्रचण्ड बीस बर्ष यता राजनीतिको केन्द्रमा छन्। प्रचण्डकै शब्दमा उनका लागि ‘यो गौरवपूर्ण, चुनौतीपूर्ण र निकै नै तनावपूर्ण पनि छ।

प्रचण्ड अहिले सरकार सञ्चालनमा समन्वय गर्न बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक छन्। प्रचण्डसँग राष्ट्रिय सहमतिको सरकार, छिमेकीसँगको सम्बन्ध र एमाओवादीको एकताबारे विनोद ढकाल, रविराज बरालमनोज सत्यालले गरेको कुराकानी :

कांग्रेस महाधिवेशनपछि राष्ट्रिय सहमतिको सरकारको कुरा उठिरहेको छ। नयाँ सरकार बन्ने कुरा उठिरहेको छ। के सरकारको सिफ्ट गर्ने बेला भएको हो?

नेपालको राजनीतिक परिस्थिति र देशको समग्र परिस्थितिले राष्ट्रिय एकताको माग गरेको छ। त्यसको अभिव्यक्ति राष्ट्रिय सरकारमा व्यक्त हुँदा सबैभन्दा प्रभावकारी हुन्छ। मैले राष्ट्रिय सहमतिको सरकार वा राष्ट्रिय एकता भन्नुको तात्पर्य एउटा सरकार ढाल्ने र अर्को सरकार बनाउने खेलसँग यसको विल्कुल सम्बन्ध छैन। १६ बुँदे सहमति गर्दा नेकपा एमालेकै नेतृत्वमा नेपाली कांग्रेस, एमाओवादी, मधेसी दलको सरकार बनाउने भन्ने भएकाले एकचोटी कांग्रेसले नैतिक दृष्टिकोणले पनि एमालेकै नेतृत्वको राष्ट्रिय सरकारमा बस्नु उपयुक्त हुन्छ।

त्यसपछि फेरि रोटेसनमा पनि हुन सक्छ, त्यो सल्लाहले हुन सक्छ। यसरी राष्ट्रिय सरकार बनाउन आवश्यक छ भन्ने मेरो भनाइ हो। नेपाली कांग्रेसका नेताहरुले बलियो प्रतिपक्षी चाहिन्छ पनि भन्नुभएको छ। कांग्रेसको महाधिवेशन सकियो, त्यो प्रक्रियाको अन्तिम कडी भनेको संसदीय दलको नेताको चुनाव हुनु छ। चुनाव भइसकेपछि कांग्रेससँग गम्भीर ढंगले कुरा गर्ने विचार गरेको छु। त्यसैले राष्ट्रिय एकता मुख्य कुरा हो, सरकारको नेतृत्व मुख्य कुरा होइन।

तपाईंको ट्युनिङ केपी ओलीसँग भन्दा शेरबहादुर देउवासँग मिल्छ भनिन्छ। त्यसकारण सरकारको फ्रेम परिवर्तन हुन्छ भन्ने विश्लेषण छ नि?

राजनीतिमा सम्भव असम्भव, नजिक टाढा भन्ने कुरा असाध्यै धेरै राजनीतिक घटनाक्रम र परिस्थितिको उतार चढावसँग सम्बन्धित हुन्छ। मैले नै ओलीजीलाई प्रधानमन्त्री प्रस्ताव गरेको हुँ। मैले रोष्टमबाट नै भनेको थिएँ – राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन रहेछ, आज म ओलीजीको प्रस्तावक भएर खडा भएको छु भनेर बोलेको थिएँ। यद्यपी मेरो कुरा अरुसँग बढी भइरहेको हुन्थ्यो।

ओलीजीसँग त कन्ट्रयाडिक्सन नै बढी भएजस्तो हुन्थ्यो। तर देशको समग्र राजनीतिक घटनाक्रमको विकास र आवश्यकताले त्यस्तो भयो। अहिले म यो सँग ट्युनिङ मिल्ने उ सँग ट्युनिङ नमिल्ने भन्ने भन्दा पनि प्रमुख राजनीतिक शक्ति एक ठाउँमा कसरी ल्याउने भन्ने तिरनै चिन्तनमा भएकाले त्यतातिर सोचेँको छैन।

तर तपाईंले सरकारको कामकारबाहीबारे असन्तुष्टी राख्नुभएको छ। पार्टीको बैठकमा मन्त्रीहरुलाई दिएको निर्देशनबाट पनि त्यो कुरा झल्किन्छ। सरकारको डेलिभरी भएन भन्नुको अर्थ त सरकारको रिप्लेसमेन्ट होइन र?

पुनर्निर्माण र संविधान कार्यान्वयन तिब्र ढंगले जाओस्, मधेस लगायत अन्य घटनाक्रम छिटो भन्दा छिटो समाधान गरेर स्थिर वातावरण बनाइयोस् भन्ने जनताको चाहना छ तर सरकारले त्यस अनुसार गति पक्डिन सकेको छैन यो। कुरा पक्कै हो। तर राष्ट्रिय सहमतिको सरकार बन्यो भने एक खालको रिसफल (पुनर्गठन) जस्तो हुन्छ र सरकारलाई प्रभावकारी बनाउने माध्यम पनि हुन सक्छ। नेतृत्व यही रहेर पनि कांग्रेस र मधेसी मोर्चा सामेल हुँदा नयाँ प्रक्रिया हुन्छ र त्यसले प्रभावकारी काम गर्न सक्छ भन्ने हो।

सरकारले प्रतिकुल अवस्थामा काम गर्नुपर्‍यो। पुनर्निर्माण विधेयक निर्माण, प्राधिकरण गठन र पुनर्निर्माण सुरु गर्ने चुनौती नाकाबन्दी मधेस आन्दोलन जस्ता चुनौती सामना गर्नुपरेकोलाई पनि हामीले कन्सिडर गर्नुपर्छ। सरकारको नकारात्मक कुरा गरेर मात्रै पुग्दैन। पछिल्लो पटक प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध चिसोपन डायलगतिर गयो। नाकाबन्दी अन्त्यतिर गयो। यसलाई पोजेटिभ मान्नुपर्छ।

त्यहाँ जे जति सम्झौता भएका छन्। ती सबै राष्ट्रको हितमा भएका छन्। मैले धेरै पहिलेदेखि चीनसँग यो यो कुरा भए हुन्थ्यो भनेको कुरा अहिले अगाडि बढेका पनि छन्। प्रधानमन्त्रीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि भन्नुहुन्थ्यो – आखिरमा प्रचण्डजीको लाइनमा म पनि आएँ। मैले ल्हासा टु लुम्बिनी रेलवेले ठूलो आर्थिक परिवर्तन लिएर आउँछ भनेको थिएँ। अहिले जुन कुराहरु अघि बढिरहेका छन्, यसले एउटा माइलेज त दिएको छ।

मधेस आन्दोलन र नाकाबन्दीको समस्या अझै सुध्रिसकेको छैन। अहिले सरकार र नेपालको राजनीतिको विषयमा भारतको भूमिकालाई कसरी हेर्नुभएको छ?

यो बीचमा जे भयो नहुनुपर्ने कुरा भयो भन्ने कुरा त मैले प्रष्टसँग भनेको छु। हामीले विधिसम्मत लोकतान्त्रिक तरिकाले संविधान बनायौं। त्यसपछि नेपाली जनताले नाकाबन्दी जस्तो कठोर यन्त्रणा भोग्नुपर्‍यो। त्यो नहुनुपर्ने कुरा भयो। यो हाम्रो कारणले होइन। यहाँसम्म आइपुग्दाखेरि त्यसो गरेर ठीक भएन भन्ने रियलाइजेसन भारतलाई पनि भयो भन्ने मलाइ लाग्छ। तर अझै वातावरण पुरै सहज भइसक्यो भन्ने देखिँदैन। वतावारण सहज बनाउन दुवै देशबीच अझै सम्वाद, वार्ता गर्न आवश्यक छ।

संविधानमा गरिएको दुईवटा संशोधनले मधेसको समस्या एक हदसम्म संबोधन गर्ने प्रयास गरेकै हो। त्यसले मधेसी समुदायमा केही न केही सकारात्मक सन्देश दिएको छ। बाँकी मुद्दाहरु सीमांकनको छ। त्यसलाई पनि एउटा संरचना छिटै बनाएर मोर्चाको पनि सहमति हुने गरी ३ महिनाभित्र टुंग्याउनुपर्छ भन्ने लाग्छ।

म आफै चाहिँ सरकार र मधेसी मोर्चाको बीचमा पुलको काम गर्ने भूमिकामा पाउँछु। किनभने ३० दलीय मोर्चाको नेतृत्व गरेको नाताले र यी मुद्दाहरु आफ्नै नेतृत्वमा स्थापित भएको नाताले। केही दिन सिरहा जाँदा आन्दोलनरत मधेसी नेताहरुले – तपाईं पनि मधेसको विरोधी भएर निस्कनुभयो, खुब लभ गर्छु भन्नुहुन्थ्यो, लभ पनि छोड्नुभयो भनेर बडो तिखोसँग भन्नुभयो। मैले भनेँ – मलाई मधेस विरोधी देख्नुभयो भने तपाईंहरुले आफ्नै खुट्टामा बन्चरो हानेको हुन्छ।

पहिलो कुरा त मधेसी जनताको निम्ति जे जति भएको छ त्यसको निम्ति गरेको संघर्षको कारण। दोश्रो, अहिले पनि मेरा रिजर्भेसनहरु रहेका छन् संविधानमा त्यसको कारण। तेश्रो, संविधान संशोधन गर्ने बेलामा सकेसम्म माग संबोधन गराउनुपर्छ भनेर खेलेको भूमिका कारण। चौथो, संयन्त्र बनाउने र सीमांकनलाई पनि परिमार्जन गराउनुपर्छ भनेर लडेको मान्छेलाई पनि मधेस विरोधी भन्नुहुन्छ भने तपाईंले कसलाई हो मधेस पक्षिय भन्ने?

साथै लभको कुरा गरेपछि मैले पनि भनेँ – मैले त लभ छोडेको छैन मधेसी जनता उत्पीडित जनताप्रति लभ नै गरेको छु तर भिलेनले लान लाग्यो मेरो लबरलाई त्यसो भएर भिलेनबाट बचाउनुपर्ने भएको छ भनेँ। मलाई के लाग्छ भने अहिले भारत पनि गम्भीर भएको छ। ५/६ महिनाको नाकाबन्दीबाट सम्बन्धमा चिसोपन आयो। त्यसबाट भारतीय नेताहरु, सरकार पनि संवेदनशील भएकै जस्तो लाग्छ। तर वातावरण सहज भइसक्यो भन्ने लागेको छैन।

प्रधानमन्त्रीको भारत भ्रमणलाई तपाईंले सकारात्मक मात्र भन्नुभएको थियो, सफल भन्नुभएको थिएन। अहिले चीन भ्रमणचाहिँ सफल हो कि होइन?

म एकदम छोटोमा भन्छु। मैले प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केपछि तपाईंको भारत भ्रमण सफल कि असफल भन्ने कुरा चीन भ्रमणपछि मात्र भन्न सकिन्छ भनेको थिएँ। सकारात्मक त सकारात्मक नै थियो, अब (चीन भ्रमणपछि)  भने भारत भ्रमण पनि सफल नै भयो।

त्यसको मापनको आधार के हो?

(हाँस्दै) अहिले यो धेरै भन्दा फाइदा हुँदैन।

तपाईंले केही हप्ताभित्र पार्टी एकता हुन्छ भन्नुभएको थियो, अहिलेसम्म त्यसमा ठोस प्रगति भएको देखिएको छैन। पार्टी एकताबारे के भइरहेको छ?

पार्टी एकताबारे हाम्रो बिभिन्न पक्षसँग वार्ता छलफल चलिरहेको छ। राम्रोसँग अगाडि बढेको छ। आज (बिहीबार) बिहानसँग वैद्यजीसँग मैले गम्भीर ढंगले कुरा गरेको छु। भोली (शुक्रबार) उहाँहरुको सेन्ट्रल कमिटीको बैठक छ। म झण्डै झण्डै विश्वासको स्तरमा के भन्छु भने त्यसले पार्टी एकता गर्नेतिर आवश्यक डिसिजन लिन्छ। वैद्यजीहरुसँग एकताको कुरा टुंगिने वित्तिकै ५/६ वटा माओवादी समूह एकैचोटी एकता हुने स्थिति छ।

यद्यपी वैद्यजीका केही साथीहरुले हुनै सक्दैन, वाहियात कुरा हो भन्नुभएको छ। होल र्‍यांक एण्ड फाइल (कार्यकर्ता) को र वैद्यजीसँग आज बिहान भएको कुराबाट पनि आशावादी छु। मैले त्यसलाई एउटा मिसन ठानेको छु। नेपालको समग्र राष्ट्रिय हितका निम्ति पनि परिवर्तन र संविधान कार्यान्वयन सबै दृष्टिकोणले पनि माओवादीहरु एक ठाउँमा ल्याउन मैले आफ्नो ठाउँबाट पुरै मेहनत गर्नुपर्छ भनेर लागेको लागेकै छु। मलाइ लाग्छ केही समयभित्र रिजल्ट आउँछ।

नेपालको राजनीतिमा सेन्टर अफ स्टेज तपाईं नै हुनुहुन्छ। कांग्रेस महाधिवेशन हुन्छ तपाईंकै चर्चा हुन्छ। सरकार गठन, विघटन तपाईंकोमा आएर जोडिन्छ। तपाईं सँधै सेन्टर अफ स्टेजमा रहने तर पार्टी भने कमजोर हुँदै जाने, यो कहाँनिर बिग्रेको छ?

नेपालको पोलिटिकल सेन्टरमा समर्थन, विरोध, विवाद सबैको सेन्टरमा हुनु आफैमा गौरवपूर्ण पनि छ र चुनौतीपूर्ण छ। त्यो सौभाग्य मलाई संयोगवस प्राप्त भयो। इतिहासले त्यस्ता मान्छे खोजिरहेको हुन्छ, को चाहिँ पर्ने भन्ने संयोग हो। म परेँ। २०५२ सालमा जनयुद्ध सुरु गरेको दिनदेखि म चर्चाको केन्द्रमा छु। यो गौरवपूर्ण छ, चुनौतीपूर्ण छ र निकै नै तनावपूर्ण पनि छ।

अहिले नेपालको राजनीति जुन विन्दुमा छ, त्यो १० वर्षको जनयुद्ध र शान्ति सम्झौताको परिणामको रुपमा आएको हो। गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र यो अरु कहिँबाट आएको होइन। यो माओवादी आन्दोलनबाट आएको हो। मेरो लिडरसिपमा आएको हो। इतिहासले मलाई ल्याएर राखिदिएको छ, म त्यहाँ भूमिका खेलिरहेको छु।

तर अर्को वर्ग यथास्थितिवादी, प्रतिगमन वा वुर्जुवा भन्नुस् जो हामीलाई हिजो आतंककारीको रुपमा ध्वस्त पार्न चाहन्थे। त्यो वर्गलाई मन परिरहेको छैन। मेरो फ्लेगजिविलिटी, मेरो रेस्पोन्सिविलिटी, मेरो प्रतिस्पर्धात्मक राजनीतिमा पनि आफुलाई ट्रान्सफर्म गर्ने कोशिसलाई मन पराइरहेका छैनन्। मैले शान्ति प्रक्रिया टुंग्याउन खेलेको भूमिकाका कारणले आम जनता र परिस्थितिले मलाई केन्द्रमा ल्याएको ल्यायै गर्छ।

तर मेरो पार्टीलाई कमजोर पार्ने अन्तर्राष्ट्रिय पावर सेन्टर, यहीँभित्रको पुरानो स्ट्यावलिस मेनस्ट्रिम यसलाई कसरी कमजोर पार्ने भनेर लाएको लायै हुन्छ। तपाईं हेर्नुभयो भने श्रृङ्खलावद्ध रुपमा मान्छेहरु (एमाओवादीबाट) लगिएको छ। त्यति गर्दा पनि माओवादी र प्रचण्डलाई त्यो विन्दुबाट हटाउन सकिएको छैन भन्ने उनीहरुलाई लागेको छ।

अहिले म के फिल गर्छु भने उनीहरुलाई कमजोर बनाइयो भन्ने त पर्छ, बाबुरामजी समेत लगिसकेपछि अब त सिध्याइयो भन्यो फेरि केही होला जस्तो छैन झन् अगाडि बढ्लाजस्तो देखिन्छ। अहिले देशभित्रका र बाहिरका तिनै पावर सेन्टरहरु फेरि प्रचण्डलाई के गरी फकाउने भन्ने एउटा रणनीति र के गरी सिध्याउने भन्ने अर्को रणनीति, दुवै रणनीति समानान्तर ढंगले गरिरहेका छन्। पहिलो पोष्टबाट

By